काठमाडौं : नेपालका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री मातृका यादवले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्यात्मक रुपमा धन्यवाद दिएका छन् ।

काठमाडौंमा जारी नेकपाको स्थायी कमिटी बैठकमा नेता यादवले आफूलाई मन्त्रिपरिषद्बाट निकालेकोमा ओलीलाई धन्यवाद दिएका हुन् ।

नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बुधबारको छलफलमा बोल्दै नेता यादवले मन्त्रिपरिषद हेरफेरमा असन्तुष्टि जनाएका छन् ।

‘मलाई निकालेकोमा धन्यवाद,’ यादवले बैठकमा भने, ‘प्रधानमन्त्रीले एक पटक पनि मसँग छलफल नगरी मलाई निकाल्नुभयो, त्यसैले धन्यवाद भन्न चाहन्छु ।’

नेता यादवले ओली–प्रचण्डले नेतृत्व गरेको नेकपा पार्टी नाम मात्रको कम्युनिस्ट पार्टी रहेको गम्भीर आरोप लगाए । ‘यो चिन्ताको विषय बनेको छ,’ उनले सार्वजनिक रुपमै भने, ‘पार्टीले मालेमावाद छाड्यो, अहिले मार्क्सवाद र लेनिनवादमा पनि बहस हुँदैछ । यो कम्युनिस्ट पार्टी नै होइन ।’

नेता यादव ओली सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए । गत मंसिर ४ गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा यादवलाई मन्त्रीको जिम्मेवारीबाट हटाएर लेखराज भट्टलाई मन्त्री बनाइएको छ ।