SMARTINFONEPAL

a complete information site

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित हुँदै ।

1 min read

सर्वसम्मत पारित हुने कि बहुमतले भन्ने विषय सभामुख, समाजवादी र सरिता गिरीमा भर पर्ने

काठमाडौँ : पश्चिम नेपालमा भारतीय अतिक्रमणमा रहेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको विधेयक प्रतिनिधिसभाबाट पारित हुँदैछ । प्रतिनिधिसभाको शनिबार १ बजे बस्ने बैठकमा सरकारले ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित हुन लागेको हो ।

प्रतिनिधिसभाको शनिबारको सम्भावित कार्यसूचीमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची मात्रै रहेको छ ।

प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सुरुमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची छ । दफावार छलफल सकिएपछि मन्त्री तुम्बाहाङ्फेले नै उक्त विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

संविधान संशोधन विधेयक पारित हुनका लागि दुई तिहाई बहुमत आवश्यक पर्छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्तापक्षका अलवा प्रमुख प्रतिपक्षी काग्रेस र प्रतिपक्षीहरू समाजवादी पार्टी, राजपालगायतले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । अन्य साना दलहरूले पनि संविधान संशोधनको पक्षमा मतदान गर्ने भएका छन् ।

संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित हुने कि बहुमतले भन्ने समाजवादीको सांसद सरिता गिरीको संशोधन प्रस्तावमा भर पर्नेछ । उक्त संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावल विपरीत भएकाले खारेज गर्ने सम्भावना रहेको छ ।

सांसद गिरीलाई उक्त संशोधन प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले निर्देशन दिएको थियो । तर उनले फिर्ता गरिनन् । समाजवादीले गिरीलाई संशोधन प्रस्ताव फिर्ता नलिए कारबाहीको चेतावनी दिएको थियो । उक्त पार्टीको संसदीय दलको बैठक ११ बजे बोलाइएको छ । त्यहाँ गिरीसँग छलफल गर्ने र फिर्ता लिने वा कारबाही गर्नेबारे निर्णय हुने समाजवादीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताएका छन् । गिरी समानुपातिक सांसद हुन् । उनलाई पार्टीले सांसदबाट फिर्ता बोलाउन सक्छ ।

गिरीको प्रस्ताव सभामुखले खारेज गरेनन् र उनलाई पार्टीले कारबाही गरेन भने संविधान संशोधन विधेयक बहुमतले पारित हुनेछ । सबै दलहरूले संविधान संशोधन राष्ट्रियता र भौगोलिक अखण्डताका लागि भएकाले एकमत रहेको देखाउन सर्वसम्मतिले पारित गराउन खोजेका छन् ।

प्रतिनिधिसभाबाट पारित भएपछि संविधान संशोधन विधेयक राष्ट्रिय सभामा जानेछ । त्यहाँबाट पनि पारित भएपछि सभामुख सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनेछन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको विषयले संवैधानिक मान्यता प्राप्त गर्नेछ ।

भारतले लिपुलेक भएर सडक निर्माण गरेपछि नेपाल सरकारले नक्सा प्रकाशित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *