SMARTINFONEPAL

a complete information site

प्रम खड्गप्रसाद ‘गोर्भाचोभ’ हुने बाटोमा, नेकपा विघटनको संघारमा ।

1 min read

चितवन : नेपालका सत्तासिन पार्टी अन्तत: नेकपा भन्ने पार्टी फुट्ने नै भयो। कथकदाचित नफुटे पनि अब यो पार्टी जुट्ने छैन। कतै जुटिहाल्यो भने पनि त्यो लोभीपापीका लागि सत्ताको अंकगणित होला तर त्यसले अब नेपाली जनताको मन जित्ने छैन। स्थायी सरकार र देशको समृद्धिका लागि जनताले दिएको प्रचण्ड बहुमतको अपमान गर्ने यो पार्टीले ढिलो चाँडो सजाय पाउँने नै छ।

यसै पनि कम्युनिष्ट नामको आकर्षण घट्दै थियो,नेपालको पछिल्लो प्रकरणले त्यसमा थप बल पुर्यायो। भनाइ नै छ, कम्युनिष्ट अरूले सक्ने हैन, आफैं सकिने हो।संसारका अरू देशका लागि स्थापित यो सत्यबाट नेपाल अपवाद होला कि भन्ने लागेको थियो, त्यो नहुने भयो।

यो पंक्तिकार भनिरहन्थ्यो, ओली नेपालका गोर्भाचोभ हुन्। उनले नै नेपालमा कम्युनिष्ट पार्टीको सत्यानास गर्नेछन्। प्रकारान्तरमा, त्यो दिन ल्याएरै छोड्ने भए। संसारका अरू देशमा पनि वर्षौ लगाएर बनाएको कम्युनिष्ट पार्टीलाई सत्ताको नशाले मदहोस भएका यो वा त्यो नामका धनन्धुकारी पात्रले धुलिसात बनाएका छन्, नेपालको कम्युनिष्ट पार्टीले खड्ग प्रसाद ओलीका नाममा त्यो धन्धुकारी पात्र पाए जस्तो छ।

यो दिन ल्याउने खड्गप्रसाद मात्र एक्ला धन्धुकारी हैनन्, त्यो पार्टीका अरू ठूला नेता र नेतृत्वको पनि हिसाब गर्नलायक योगदान छ। उनीहरूको अकर्मण्यता र असक्षमताकै सहउत्पादनका रूपमा नेकपा ओलीमय भएको हो। उनीहरू सही भएको भए नेकपामा खड्गप्रसाद नामको बन्सोको कुनै गुञ्जायस नै हुने थिएन।

ओली नेकपाका प्याम्पर्ड ब्वाय हुन्। उनी यही भूमिकाका लागि वर्षौैदेखि तयार गरिएका पात्र हुन्। यो पात्रको समस्या उसको शैलीमै छ। उनी यस्ता मनमौजी तानाशाह हुन् जो न नीति मान्छ न पार्टी। मान्छ त केवल आफूलाई तानाशाह बनाउने रणनीति। उनी आफ्नो सुविधाअनुसार नीति र पार्टीको व्याख्या मात्र गर्दैनन्, रणनीतिक पासा फालेर खेलको नियम नै उल्ट्याइ दिन्छन्।

मदन भण्डारीले वातप्रसाद भन्ने गरेका खड्गप्रसादसँग हिप्नोटिज्म गर्ने गजबको कला छ। उनी ठाउँको ठाउँ ढाँट्न सक्छन् र मानिसलाई थाहै नपाइ मूर्ख बनाउने हैसियत राख्छन्। आज उनले नेकपामा हासिल गरेको शक्तिको पछाडि पनि उनको यही छुल्याइ छ।

उनले नीतिमा विश्वास गर्ने नेता र पार्टीमा विश्वास गर्ने कार्यकर्ता हैन, धर्मभिरूले बनाउनेजस्ता अनुयायी बनाउँछन् र जस्तो बेला पनि भक्कुको राँगोजस्तो उतार्न सक्छन्। उनी त्यही खालका छोटे नेता-कार्यकर्ताका नेता हुन्।

उनले ती मानिसलाई यस्तो पटमूर्ख बनाएका छन् कि उनीहरू ठान्छन् ओलीले पार्टी बनाए। तर, यो भ्रम हो। उनी बनाउन हैन, भत्काउन मात्र जान्दछन्। उनले जीवनमा एकपटक एमाले र माओवादी मिसाएर नेकपा बनाउन योगदान गरेका थिए;  त्यो पनि उनको आफूलाई तानाशाह बनाउने रणनीति मात्र रहेछ भन्ने देखियो।

खड्गप्रसादले जीवनभर अनेक प्रपञ्च गरे, वामदेव नामको एक हुस्सु नेतालाई थाङ्नामा सुताएर पार्टी पनि कब्जा गरे, संसदीय दल पनि कब्जा गरे। राष्ट्रपति पनि उनले आफ्नो कठपुतली बनाए। शीतल निबास त उनको निम्ति पानीको पधेरो नै भयो। केहीले आरोप पनि लगाए, नेकपा ओली गुटको हेडक्वार्टर हो शीतल निवास। पटक पटक खड्गप्रसादले विद्यादेवीलाई आफ्नो लागि प्रयोग गरे। उनीहरूले आफू देशको प्रधानमन्त्री र राष्ट्रपति हौैं भन्ने पनि भुलेको जस्तो देखियो। पछिल्लो प्रकरणमा राष्ट्रपति भण्डारीले आफू राष्ट्रप्रमुख भएको पनि बिर्सिन्। राष्ट्रपति हुनुअघि उनी एमालेमा ओली खेमाकी उपाध्यक्ष थिइन्, उनी त्यस्तै देखिइन्।

नेपाली जनता राजनीतिक अस्थिरताबाट आजित थिए। उनीहरूले चुनावी गठबन्धन गरेका तत्कालीन एमाले र माओवादी केन्द्रमा बहुमतको सम्भावना देखेर चाहिने भन्दा बढी भोट खन्याइदिए। त्यसपछि पार्टी एकीकरण भएर नेकपा बन्यो। तर, दिन बित्दै जाँदा प्रकारान्तरमा यो एकता विद्यादेवी र खड्गप्रसाद कम्पनीलाई तानाशाह बनाउने लाइसेन्स दिएजस्तो भयो।

यतिबेला नेपाली जनता टाउकोमा हात राखेर सोचिरहेका छन्, गल्ती हाम्रै हो। हामीले नै बुलेटका तानाशाहलाई ब्यालेटबाट पनि अनुमोदन गरिदियौं। फेरि पनि चुनाव आउला, त्यसपछि हिसाबकिताब गरौला।

नेपालको सत्तारूढ कम्युनिष्ट पार्टी विघटनको संघारमा उभिएको छ। यो दिन ल्याउने मूल धन्धुकारी खड्गप्रसाद शर्मा ओली भए पनि यसका लागि त्यो पार्टीका अरू ठूला नेता र नेतृत्वको पनि हिसाब गर्नलायक योगदान छ। उनीहरूको अकर्मण्यता र असक्षमताकै सहउत्पादनका रूपमा नेकपामा खड्गप्रसादको उदय भएको हो। उनीहरू सही भएको भए नेकपाले  खड्गप्रसादको नाममा नेपाली भर्सनको ‘गोर्भाचोभ’ नै पाउँने थिएन।

तर, खड्गप्रसाद यो यथार्थ मान्ने पक्षमा छैनन्। उनी पार्टीका लागि हैन, आफ्ना लागि जनताको म्यान्डेट आएको हो। र, पहिलाभन्दा पनि बढी आफ्नो पक्षमा छ। मिडिया, सामाजिक सञ्जाल र आफ्ना विरोधीले भ्रम मात्र छरेका हुन्। अझ यसमा त भारत पनि थपियो, पछिल्लो चरणमा उनी खुलेआम यसो भनिरहेका छन्।

यो पंक्तिकार भनिरहन्छ, भारत विरोधमा राष्ट्रवाद देख्ने चस्मा फेर्नुपर्छ। हाम्रो भौगोलिक अवस्थितिले नै भारतसँग मिलेर जानुको विकल्प छैन। कुनै पनि विषयमा भारतले लिने गुण र दोषका आधारमा उसलाई हेर्ने दृष्टिकोण बनाउनु पर्छ। तर, पछिल्लो चरणमा खड्गप्रसादले आफ्नो कुर्सीका लागि आलू मात्र राष्ट्रवादी देखाउन कूटनीतिक मर्यादाका सारा इजार खोले र नांगिए।अब स्थिति यस्तो बनाइदिए कि कुनै पनि बेला नेपाल र भारतबीच युद्ध नै हुनसक्छ।

धेरैलाई ओली भारतविरोधी हुन् भन्ने भ्रम पनि छ। किनकि ओलीसँग तथ्यलाई पनि तोडमोड गरेर आफ्नो पक्षमा पार्ने हिप्नोटिज्म कला छ। महाकाली सन्धीको बेला उनको भूमिका होस् या भारतीय पैसामा बनाइएको मदन भण्डारी प्रतिष्ठानको समानान्तर संस्था होस्, यी दुई प्रकरणलाई तथ्यको आखाबाट हेर्यो भने उनी कति पानीमा छन्, देखिहालिन्छ। तर, भावनामा बग्ने र स्मरण शक्ति कमजोर भएको नेपालीलाइ उनी सजिलै इमोशनल ब्लाकमेलिङ गरिहाल्छन्। अहिले पनि उनलाई राष्ट्रवादका मसिहा देख्ने दोषी चश्मावालको कमी छैन।

ढिलो चाँडो उनले छरेको भ्रम सकिँदा यथार्थ जनतासामु आउँछ नै। तर, त्यतिबेलासम्म उनले आफ्नो दल मात्र हैन, नेपालको शासनपद्धति नै धरापमा पारिसक्ने सम्भावना बढेर गएको छ। सभामुखलाई थाहा नदिई संसद अधिवेशन अन्त गर्ने, राष्ट्रपतिलाई उनले भने भनेको ठाउँमा  सहीछाप गर्न चौविसै घण्टा तयार पारेर राख्ने  र रातको १२ बजे पनि प्रधानन्यायाधीशलाई चोरबाटोबाट आफ्नो निवासमा हाजिर गराउने खड्गप्रसादको यो हर्कत कुनै तानाशाहको भन्दा कम छैन। नेकपा नामको दल त उनका लागि दल हैन, सत्तामा उकाल्ने भर्याङ मात्र थियो, त्यसको काम सकिएपछि उनले फाली नै दिइसके।

जे होस्, खड्गप्रसाद नेपाली भर्सनको गोर्भाचोभ हुने बाटोामा छन्। यो प्रक्रिया कति छिटो सकिन्छ, अबको प्रतीक्षा त्यसको मात्र हो ।

अनलाइन मेडियाबाट साभार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *