निर्वासनबाट जन्मभूमि टेकेको दिन…

 

म अदालतमा यसरी छिरें
संसदीय चुनावमा सीमापारबाट विजय प्राप्त गरेको मेरा लागि भने अलमल्याउने जालमा पाइताला टेकिएको झैं भएको थियो । मेरा कार्यकर्ताहरु चुनाव जितेको भोज खाइरहँदा भने म भारतको गल्लीमा लगाइएको ठेलामा भात खाइरहेको थिएँ । नेपाल भित्रेर सांसदको विल्ला भिर्नेभन्दा मलाई विजय गराउने जनतासँग खुशीयाली साँध्ने तीब्र आकांक्षाले मलाई सताइरहेको थियो । आफू नेपाल छिर्दा उत्पन्न हुने राजनैतिक, सामाजिक तरंगको बारेमा सबैसँग जानकारी लिइ नै रहेको थिएँ ।

राजनैतिककर्मी, मानव अधिकारकर्मी, पत्रकार, प्रहरी, सामाजिक अगुवा सबैको सल्लाहलाई हृदयंगम गर्दै अन्ततः मेरो स्वविवेकी निर्णयले नेपाल छिर्न हिम्मत गरें ।

धेरै वुद्धिजीवी वरिष्ठले अहिले नेपाल नआउनुस् भन्ने सल्लाह दिएपनि मलाई मतदिने मतदाताको यति चर्को दवाव थियो कि अब पनि नेपाल नआए म तिनको नजरमा भगौडा र अपराधी सावित हुने पक्का थियो । हो ! मैले हाम्रो देशको राजनैतिक अवस्थाअनुसार नेपाल आएर गल्ती गरेकै हो । मलाई लिन लाखौं जनता भारत आउन तयार थिए, तर म आफ्नो र राज्यको सुशासनलाई मध्यनजर गर्दै सुटुक्क नेपाल आएँ, त्यो मेरो राजनैतिक भूल थियो । मेरो रिहाइका लागि मलाई मत दिने हजारौं जनताको लस्कर लिएर अदालतमा उपस्थित हुनुपर्दथ्यो, तर सुटुक्क आए सम्मानका साथ रिहा हुने कानुनी सल्लाहकार र सरकारी कर्मचारीले दिएको आश्वासनमा विश्वस्त हुनु महाभूल थियो भन्ने अहिले जेलमा महसुस गर्छुं ।

हिजो सामान्य नागरिकबाट आज सांसदमा रुपान्तरण भएको मर्यादालाई स्थापित गर्न खोज्दा मैले जेलको हावा खानु प¥यो । देशको संविधान र कानुनले जनमतको सम्मान गर्नेछ भन्ने मेरो भ्रम पुर्पक्षका लागि जेल चलानले चिरिदियो । हुलले जन्माएको हुल हुज्जत हुलद्वारा नै स्थापित गर्नुपर्दछ भन्ने मलाई हेक्का भएन । आउनुस्, देशको कानुन र संविधानले तपाईंको सम्मान गर्नेछ भन्ने राजनेताहरुले अभिव्यक्त गरेको पंक्ति त मेरा लागि बालक भुलाउने चकलेट रहेछ भन्ने सावित भयो ।

नेपाल छिर्ने दिनमा भारतमै डेरा जमाएको अइयाको घरको चापाकलबाट पानी निकालेर नुहाएँ । मोहना नदीको किनारबाट जन्मभूमि नेपाल नियालें । आज बेलुकीको रात तिम्रो कोखमा हुनेछ भन्दै नेपाली धर्तीलाई सम्झिएँ । नजा, नजा भनेर केही दिनदेखि मलाई सम्झाउँदै पिछा गरिरहेकी अइयालाई केही हुन्न भन्ने ढाडस दिएँ । रुँदै अइयाले पस्किएको एक रोटीको टुक्रा मुखमा हाल्दै बिदा लिएँ । बाटोमा केही भैहाले राजपाका नेता तथा घर परिवारमा खबर गरिदिनु भन्ने हेतुले सहयोगी साथी कान्छु र गंगालाई अर्को मोटरसाइकलमा पिछा गर्न आएँ ।

नेपालको बोर्डरमा मलाई लिन कानुन व्यवसायी गजेन्द्र केसी आउनुभएको थियो । अधिवक्ता गजेन्द्रले ल्याएको मोटरसाइकल आफैले हाँक्ने निर्णय गरें । यसो गर्दा मोटरसाइकलको हेण्डिल आफ्नो हातमा हुने भएकोले आत्मविश्वासको मात्रा स्वतः बढेर जाने नै भयो । धनगढी बजारमा छ्याप छ्याप्ती प्रहरी तैनाथ भएको खबर कार्यकर्ताले दिइनै राखेका थिए । अदालतको ढोकाबाहिर दर्जनौं प्रहरी डिउटीमा तैनाथ भएर मलाई रोक्न खोज्दै थिए । सुरक्षाकर्मीले रोक्दा रोक्दै पनि मोटरसाइकल अदालतभित्र छिराइ दिएँ मैले । पछि पछि दौड्दै आएर प्रहरी मलाई समात्न खोज्दै थिए । दैवसंयोग वा भाग्य भनौं छेवैमा आर्मी डे«समा सजिएको सैनिक जवानलाई मैले के छ भाइ खबर ? भनेर सोधें । ढाका टोपीसहित कोटमा सजिएको मलाई उनले ठूलै व्यक्ति ठाने कि क्या हो सलाम साप ! भन्दै अभिवादन टक्र्याए । यो देखेर मलाई समात्न दौडदै आएका प्रहरी हच्किए । मेरा वकील गजेन्द्रले मलाई सिधै श्रेष्तेदारको कोठामा प्रवेश गराए । हामी सोफामा बस्न मात्र के खोज्दैथियौं, दर्जनौं प्रहरीको एकसाथ कोठामा प्रवेश भयो । ती प्रहरीले मलाई समात्न मात्रै के खोजेका थिए, अदालतका एक कर्मचारीले – यो अदालत हो, यसलाई कुनै प्रहरी कार्यालय नसम्झिन चेतावनी दिए । लगत्तै मलाई श्रीमानको (न्यायाधीश) फैसला गर्ने सुनुवाइ कक्षमा लगियो । मेरो प्रवेशको केही क्षणमै माननीय रेशमजी होइन ? भन्दै न्यायाधीश परशुराम भट्टराईजी आउनुभयो । हालखबर सोधपुछ भयो, उहाँसँगको भलाकुसारीले अब पक्कै रिहा भइन्छ कि भन्ने विश्वास म मा बढेर आयो ।

म अदालत छिरेको केही समयभित्रै पत्रकारहरुको बाक्लो भीड अदालत परिसरभित्र भैसकेको थियो । म र न्यायाधीश चुपचाप बसिरहेका थियौं, बाहिर एक चर्चित दैनिक पत्रिकाका पत्रकारले प्रत्यक्ष प्रसारण गरिरहेका थिए । म आफै लामो समय पत्रकारिता गरेकोले प्रत्यक्ष प्रसारणमा उत्तर फर्काइरहेका पत्रकारले दिएको जवाफबाट उनलाई के कस्तो प्रश्न सोधिएको थियो, आँकलन गरिहालें । उनी हौसिदै रौसिदै जवाफ दिइरहेका थिए – रेशम कसरी अदालत परिसरभित्र आइपुग्यो यो नै रहस्यको विषय हो, उसलाई इन्कान्टर नगरिएकोमा हामी सबै पत्रकार नै चकित परेका छौं । कुनै ठूलो शक्तिको सहयोगमा उ अदालत छिरेको हुनुपर्छ । उ सकुशल बचेकोमा अदालतको पनि हात हुनुपर्छ । उनको जवाफ सुनेर म मुस्कुराएँ । श्रीमान भने खित्कै छोडेर हाँस्दै आफ्नो कार्यकक्षमा प्रवेश गर्नुभयो ।

मेरो अदालत प्रवेशको विषयमा प्रत्यक्ष प्रसारण गर्ने पत्रकारलाई म राम्रैसँग चिन्दछुँ । म भूमिगत हुँदासमेत मेरा बारेमा उनी निकै नकारात्मक समाचार लेख्ने गर्दथे । त्यसको निरन्तरता उनले आजसम्म पनि दिएका छन् । उनको र मेरो गहिरो मित्रता नभएपनि एउटै जिल्लामा पत्रकारिता गर्ने मेरो निम्ति उनी किन आक्रोशित छन् भन्ने मैले बुझ्न भ्याएको छैन । मसँग सहयोगी भै निकैवर्ष पत्रकारिता गरेका गोविन्द रोस्यारा भाइ जेलमा भेट्न आउँदा सोधेको थिएँ – पहिले नकारात्मक भएपनि अहिले सबैले कुरो बुझिसके दाइ, पीर मान्नु पर्दैन भनेर उनले मलाई सम्झाएका थिए ।

मेरो अनसनको शुरुवात
२०७४ फागुन १४ गते जिल्ला अदालतमा उपस्थित भएकै दिनदेखि म जेल गएँ । फागुन २० गते चुनाव जितेका सबै विजेता सांसदहरुलाई सपथ खानका लागि सरकारले राजधानी काठमाण्डौमा आमन्त्रित ग¥यो । जिल्ला अदालतले जेल पठाउँदासमेत न्यायाधीशलाई मैले मेरो विजयी प्रमाणपत्रको बारेमा सोधेको थिएँ । संजोग पनि कस्तो रह्यो भने मेरो उम्मेद्वारीदेखि विजय भएको घोषणा, पुर्पक्षका लागि कारागार चलान गर्ने र मलाई जन्मकैदसम्मको फैसला गर्ने न्यायाधीश पनि उनै परशुराम भट्टराई भए । यसैबाट सबैजसो राजनैतिक अन्वेषकलगायत मैले पनि अनुमान पाएको थिएँ – यो मुद्दा अदालती होइन राजनैतिक हो र राजनैतिक पद्धतिले नै यसको समाधान गरिनुपर्दछ ।

जेलमा परेको भन्दा प्रमाणपत्र र सपथ ग्रहणको चिन्ताले मलाई पिरोल्न थाल्यो । आखिर म नेपाल आइसकेको थिएँ र राज्यले मलाई जेल चलान गर्दै नियन्त्रणमा राखिसकेको थियो । अब त सरासर जेलमै भएपनि मेरो प्रमाणपत्र मलाई हस्तान्तरण गर्नुपर्दथ्यो, तर सरकारले त्यसो गरेन । प्रमाणपत्रका लागि मैले सिडियो गोविन्द रिजाललाई पनि सोधें । अत्यन्तै सहयोगी समाज बुझेका कैलाली सिडियो रिजालज्यूले पनि निकै प्रयत्न गर्नुभयो । परिणाम उहाँले र मैले सोचेजस्तो भएन ।

देशमा जनमतले स्थापित लोकतन्त्रको नामाड्ढरण शब्दैपिच्छे उच्चारण गर्ने नेताले निरंकुशताको थैलोभित्र जनमत कोच्दै थिए । श्री ५ महाराजधिराज सुन्न नसकेर जनता फकाइ फकाइ सडकमा ओराल्नेहरुले आफू महाराज भएको सपना देख्न थालिसकेका थिए । एउटा राजालाई किनारा लगाएर म नै अब सर्वेसर्वा हुँ भन्ने भूत सवार तिनमा भैसकेको थियो । पटक पटकको अस्थिर सरकारबाट जनता वाक्क भैसकेका थिए । नाकाबन्दीको निहुँमा गाडिएको नक्कली राष्ट्रवादलाई चिन्नै नसकी जनताले पनि झण्डै दुई तिहाइको थप्पा लगाइदिए । दुई तिहाइको दम्भको गर्जन शुरु भैसकेको थियो । यसको प्रभाव जनताले बुझ्नेबेला नभैसकेको भएपनि कर्मचारी वृत्तका सरकारी मातहतमा बस्ने सबैले बुझिसकेका थिए, त्यसैको परिणामित उदाहरण हो – मेरो प्रमाणपत्र । वास्तवमै मेरो विजयी प्रमाणपत्र बन्धक बनेकै हो ।

आदेश त स्वार्थको सन्दुकमा थन्किसकेको थियो, यो कुराको भेउ पाएपनि तत्काल केही गर्न सक्ने अवस्था हामीसँग थिएन । जिल्ला प्रशासन कार्यालयका प्रमुखको बसमा नभएपछि प्रमाणपत्रका लागि मैले सर्वोच्च अदालतको ढोका गुहारें । न्यायको आशा गरिएको सर्वोच्च अदालतले समेत मेरो निवेदन दरपिठ गरिदियो । मेरो प्रमाणपत्र पाउँ भन्ने निवेदनलाई सर्वोच्चले दरपिठ गरेपछि सारा वुद्धिजीवी, मानवअधिकारकर्मीसमेत चकित परेका थिए । एक सर्वोच्च अदालतका न्यायाधीश भैसकेका र अहिले मानवअधिकार आयोगमा कार्यरत बरिष्ठ व्यक्तिले मलाई जिल्ला कारागार कैलालीमा भेट गर्दै भनेका थिए – माननीयजी, लोकतन्त्र स्थापित गर्ने बहानामा हुकुमी शासनको शुरुवात भयो कि भन्ने कुरामा तपाईंले विजयी प्रमाणपत्र नपाएपछि हामी सशंकित भैसक्यौं । त्यसपछि उहाँले काठमाण्डौमा आएर रेशम चौधरीलाई माननीयको दर्जासहित प्रमाणपत्र दिनुपर्ने वक्तव्य नै निकाल्नु भएको थियो । जिल्ला प्रशासन प्रमुख, अदालत, निर्वाचन आयोग सबैतिर आग्रह गरेर पनि मैले प्रमाणपत्र पाउन सकेन । प्रमाणपत्र पाउनका लागि अब एउटै मार्ग र उपाय थियो – संसद सचिवालय ।

२०७४ फागुन २० गते विजयी सांसदलाई सपथ लिनका निमित्त राजधानी काठमाण्डौ बोलाइयो । अघिपछि पहिचानको ‘प’ पनि सुन्न नचाहने पार्टीका सांसदहरु आ–आफ्नो पहिचानी पोशाक लगाएर संसद भवन छिरे । टेलिभिजनको रंगीचंगी दृश्यले यस्तो भान हुन्थ्यो कि सांसदको सपथभन्दा देशको चिनारी महोत्सव हुँदैछ । मुलुकमा पहिचान स्थापित भए देशै टुक्रिन्छ भन्ने नेताहरुकै सम्मुख आ–आफ्नो भाषामा सपथ लिएको देख्दा मन गर्वित र सपथ लिन नपाएकोमा त्यतिकै विचलित हुन्थ्यो । रंगीचंगी पहिचानी पोशाकमा सजिएर सपथ लिएका सांसद देखेर म मनमनै अनुमान लगाउँथे – पहिचान बेचेर राष्ट्रियताको बर्कोले हामीलाई दास बनाइसकेको यिनले कहिले बुझ्ने हुन् कुन्नी ?

विजयी सहपाठी सांसदहरुले सपथ लिएपछि मेरो बेचैनिले सीमा नाघ्यो । के गर्ने, कसो गर्ने भनेर सबैतिर फोन गरेर माहोल बुझें । विजयी सांसदलाई प्रमाणपत्र र सपथ नखुवाउनु राज्यको गम्भीर गल्ती हो भन्ने सबै नागरिक वुद्धिजीवी, राजनैतिक विश्लेषकसमेतको निश्कर्ष थियो । राज्यको कानुन व्यक्तिको हातमा बन्धक बनिसकेको प्रष्ट भैसकेको थियो । आवश्यक सुझावका लागि पार्टीका मुख्य व्यक्ति महन्त ठाकुर, राजेन्द्र महतोसमेतलाई फोन गरेर सुझाव मागें । अबको विकल्प अनसन हो भन्ने आफ्नो धारणा राखे“ । राजेन्द्र महतोले त्यस्तो गम्भीर गल्ती कदापी गर्नुहुन्न भन्ने सुझाव दिनुभयो, तर मेरो ढिपी बढो अनौठोको हुन्छ । जे ठीक लाग्छ त्यसबाट वञ्चित गर्न मलाई विरलैले सक्छ । विकल्प अनसन हो भन्ने मेरो अठोटलाई राजेन्द्रको सुझावले समेत जित्न सकेन ।

यसरी मलाई नेल लगाइयो
अस्पतालमा भर्ना भएकै दिनदेखि आमरण अनसनकै बखत पनि मलाई नेल लगाएर बाँधिएको थियो । धेरैदिन भोको बसेपछि भोक, प्यास केही लाग्दैन रहेछ । दिशा पिसाब पनि लाग्दैन रहेछ । अस्पतालको शैयामा सुतिरह्यो । भेटघाटमा आएकाहरुको अनुहार टुलुटुलु हेर्‍यो । छटपटिएर विस्तरामै कोल्टे फेर्‍यो । दिनहरु यसैगरी नै बितिरहेका थिए । आफ्नै पार्टीका नेताले नै बेवास्ता गरेपछि सरकारलाई चासो हुने पनि कुरै भएन । मर्न रत्तिभर डर लाग्थेन, किनकि पहिचानको आन्दोलनमा होमिएको नेता मृत्युदेखि भाग्नुपनि भएन । दिनभर भेट गर्न आउने भेटालुहरुको ढाडस र आशा यति गहन र गम्भीर प्रकृतिको हुन्थ्यो, जसले मलाई म अब साँच्चिकै नेता रहेछुँ भन्ने कुराको आत्मावोध गराउँदथ्यो । यही आत्माबोधको विश्वासले विजय असम्भव छैन भन्दै म ढुक्क हुन्थें ।

आमरण अनसनको चौधौं दिनमा बिहान ८ बजेतिर मिठु भाइले खबर ल्यायो- आज राजपा नेपालका अध्यक्ष मण्डल भेट्न आउने रे । धेरै दिनपछि अलि तागत र स्फूर्ति शरीरमा प्रवेश गरेजस्तो लाग्यो । दाँत माझ्न र मुख धुनका लागि सुरक्षाकर्मी साथीलाई खुट्टामा लगाइएको नेल खोलिदिन आग्रह गरें । दाङतिरका प्रहरी सहायक निरीक्षक (असइ) भाइले आज त्यस्तो केही छ र दाइ ? भनेर सोधें । यति धेरै दिनपछि आफ्नो पार्टीका नेताहरु भेट्न आउने उत्साहलाई लुकाउन मन लागेन र भनिदिएँ- भाइ, राजपा अध्यक्ष मण्डलका नेताहरु आज भेट्न आउँदै हुनुहुन्छ, अलि सफा भएर बस्नुपर्‍यो भनेर नि ।

उनको आदेश पाएपछि छेवैमा बन्दुक समातेर डिउटी गरिहेका प्रहरी जवानले मेरो खुट्टाको नेल खोलिदिए । आमरण अनसनमा खाने पिउने कार्य नभएपछि सुत्ने र उठ्ने क्रिया नियमित हुने कुरै भएन । सिरानीमा टाउको राखेर सुत्या सुत्यै भएर होला, कपाल लट्टा परेको जोगीको जस्तो जिङ्ग्रिङ्ग भइसकेको थियो । मुख सुकेर प्याक प्याक्ती गन्हाउँथ्यो । मसँग कुरुवा बसेका मेरो सहयोगी तथा बालसखा कान्छुलाई प्याकेटवाला स्याम्पु किन्न पठाएँ, ब्रस गरेर मुख धोएँ, कपाल नुहाएँ र अलि चिटिक्क हुनेगरी बसें । मैले यी सम्पूर्ण कृयाकलाप गर्दा मेरो डिउटीमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) ले आफ्नो माथिल्लो निकायमा रिपोर्टिङ गर्न भ्याइसकेका थिए ।

कुनै कारणवस दुई तीन दिनमा ट्वाइलेट वा स्वास्थ्य चेकअपका लागि अर्को वार्डमा जानुपर्दा प्रहरीहरुले नेल खोलिदिन्थे र मलाई ह्वील चेयरमा गुडाउँदै लैजान्थे अनि फर्किएपछि फेरि नेल लगाइदिन्थे । आजपनि सोही क्रिया दोहोर्‍याउने होलान् भन्ने नै लागेको थियो । धेरै दिनदेखिको भोको ज्यान जति स्फूर्तिलो हुन खोजेपनि के नै हुन्थ्यो र ? अध्यक्ष मण्डल भेट्ने जाँगरले कपाल, मुख धोएपनि विस्तरामा बसिरहन सकेन, त्यसैले शैयामा पल्टिएर कम्बल ओढें ।

शक्ति नभएको जीउले निद्राको सुरुवाती गर्न मात्रै के थालेको थियो, डिउटीमा खटिएका प्रहरी भाइले मेरो ओढिएको कम्बल पल्टाउँदै सुत्ने पलङमा बाँधिएको नेलले मेरो खुट्टामा कस्न खोजे । मेरो त नेलले बाँधिने बानी परिसकेको थियो, चुपचापै थिएँ तर अचानक अलि चर्को स्वरमा सुनें – ए ! नबाँध् ।

नेलले मेरो कुर्कुच्चा कस्नै लागेका प्रहरीले असईको मुख हेरे । पुनः असईले अलि झर्किएको स्वरमा भने- नबाँध भनेको सुनिनस् । माथिबाट आज नबाँध्नु भनेको छ । बिरामीको अलि विचार पुर्‍याउनु, तर नेल लगाउनु पर्दैन । असइले अलि विचार पुर्‍याउनु भन्ने शब्द कैदी भाग्न सक्छ तर्फको संकेत थियो ।

[रेशम चौधरीद्वारा लिखित ‘परिवन्द’बाट साभार]